सुनसरी । सुनसरीका १२ वटा पालिका मध्ये कार्यसम्पादन मूल्यांकनको आधारमा वराहक्षेत्र नगरपालिका र सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका पहिलो र दोस्रो स्थानमा रहँदै सर्वोत्कृष्ट बनेका छन भने इटहरी सबैभन्दा कमजोर पालिका बनेको छ ।
कार्यसम्पादनमा सुनसरीको कान्छो नगरपालिका वराहक्षेत्र जिल्लाकै सर्वोत्कृष्ट बनेको हो भने सदरमुकाम रहेको इनरुवा दोस्रो बनेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वराहक्षेत्र नगरपालिकाले ६७ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट बनेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्यांकन गरेर नतिजा प्रकाशन गरेको हो ।
सुनसरीका १२ वटा पालिका मध्ये कार्यसम्पादन मूल्यांकनको आधारमा वराहक्षेत्र नगरपालिका पछि इनरुवा नगरपालिकाले ६१.४ प्रतिशत अंक हात पारेको छ । विगतको मुल्यांकनमा निक्कै पछि पर्दै आएको इनरुवाले पहिलो पटक छलाङ मारेको हो । यसलाई इनरुवा नगरपालिकाले आफ्नो कार्य प्रगति र कार्यक्षमताको स्तारोन्नतीको रुपमा लिएको छ ।
इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले नगरपालिकाको जनप्रतिनिधिहरुको पछिल्लो नेतृत्वले नगरपालिकाको कार्यशैली, क्षमता र जनताको अपनत्व हुने गरी योजना निर्माण लगायतका कामहरुमा आमुल सुधार गर्दै विकसित इनरुवा बनाउने अभियानलाई अगाडि बढाएको परिणाम छोटो समयमा इनरुवा नगरपालिकाले मुल्यांकनमा छलाङ मारेको दावी गरे ।
त्यस्तै हरिनगर गाउँपालिकाले ५८ प्रतिशत अंकसहित तेस्रो स्थानमा छन भने धरान उपमहानगरपालिका ५६.३ प्रतिशत अकंसँगै चौथो स्थानमा छन । त्यसपछि क्रमसः रामधुनी नगरपालिकाले ४९.१ प्रतिशत, भोक्राहा नर्सिङ गाउँपालिकाले ४५.९ प्रतिशत, दुहबी नगरपालिकाले ४५.५ प्रतिशत, बर्जू गाउँपालिकाले ४४ प्रतिशत, गढी गाउँपालिकाले ४२.२ प्रतिशत, कोशी गाउँपालिकाले ४१.३ प्रतिशत, देवानगञ्ज गाउँपालिकाले ४०.९ प्रतिशत र इटहरी उपमहानगरपालिकाले ३९.७ प्रतिशत अंक प्राप्त गरेका छन् ।
कार्यसम्पादन मूल्यांकनको प्राप्तांक अनुसार इटहरी उपमहानगरपालिका सुनसरीभरीमै सबैभन्दा कमजोर पालिका बनेको छ । इनरुवा नगरपालिकाको करिब आठ वर्षको इतिहासमा कार्यसम्पादन मूल्यांकनको नतिजामा छलाङ मारेको हो । यसअघि इनरुवा नगरपालिकाको प्रर्दशन मध्यमस्तरको रहँदै आएको थियो ।















Discussion about this post