इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जन्मेर यहीका विद्यालयमा अध्ययन गरेर मुलुकको प्रशासनमा उच्च ओहोदा पुग्न सफल तीन जना ब्यक्तित्वलाई आइतवार इनरुवा नगरपालिकाले सम्मान गरेको छ ।
इनरुवा ५ घर भएका उच्च अदालतका मुख्य न्यायाधिस राजनप्रसाद भट्राई, इनरुवा १ घर भएका प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले र इनरुवा ३ घर भएका पूर्वाञ्चल विश्वविद्यालयका डिन कोमलप्रसाद दुलाललाई नगरपालिकाले सम्मान गरेको हो ।
इनरुवामा जन्मिएर यहीको विद्यालयमा अध्ययन गरी मुलुकको प्रशासनको उच्च पदमा पुगेर इनरुवाको गौरब र पहिचान बढाएको भन्दै नगरपालिकाले उनीहरुलाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेको हो ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले इनरुवालाई राष्ट्रिय रुपमा पहिचान दिलाउने र यहाँको गौरब बढाउँदै इनरुवाको जनजीवन, यहाँको शिक्षा, संस्कृति र सभ्यतालाई राष्ट्रिय रुपमा पु¥याउँदै सम्पूर्ण इनरुवाबासीलाई गौरवान्वित बनाउन सफल हुनु भएकोले उहाँहरुलाई सम्मान गरेको बताए ।

उनले यहाँको शिक्षा, यहाँको जनजीवन र समाज गुणस्तरीयतालाई सम्मानित ब्यक्तित्वहरुले पुष्टि गरेको भन्दै नगरपालिकाले इनरुवालाई गौरवान्वित बनाउने सबैलाई सम्मान गर्ने बताए । मेयर भण्डारीले सम्मानित ब्यक्तित्वहरुबाट इनरुवा नगरपालिका र नगरबासीले अझै यहाँको विकास, सम्मान र पहिचान बढाउने हिसावमा काम हुने विश्वास ब्यक्त गरे ।
उपमेयर विनिताकुमारी मेहताले इनरुवाको गौरब बढाउन सफल ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु आफूहरुको गौरब भएको भन्दै यसले इनरुवालाई राष्ट्रिय रुपमा पहिचान स्थापित गराएको बताइन ।
कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुले आफ्नो जन्मभूमीमा सम्मानित हुन पाउनु गौरबको विषय भएको भन्दै आफूले खेलेको, पढेको र हुर्किएको भूमीमा सम्मानित हुँदा यसले जन्मभूमीप्रतिको जिम्मेवारी र कर्तब्यलाई अझै बढाएको बताएका थिए ।
उनीहरुले आ–आफ्नो क्षेत्रबाट इनरुवाको लागि गर्न सक्ने काम र कर्तब्यको लागि लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
त्यसअघि प्रहरी नायब महानिरीक्षक काफ्लेलाई उनी अध्ययन गरेको भगवती माध्यमिक विद्यालयका २०४८ सालको एसएलसी ब्याचका सहपाठीहरुले सम्मान गरेका थिए भने उनी जन्मिएको इनरुवा वडा नम्बर ९ कार्यालयले पनि सम्मान गरेको थियो ।















Discussion about this post