इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ मा जवरजस्ती रूपमा हाइटेन्सन लाइन (३३ केभी) मुनि निर्माण भइरहेको घरको छत ढलानको क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
घटनामा बर्जु गाउँपालिका–६ निवासी ३५ वर्षीय नन्दकुमार चौधरीको मृत्यु भएको छ भने गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी गम्भीर घाइते भएका हुन् । दुवैजना तीन तल्ले घरको छत ढलानको काममा संलग्न थिए । छत ढलानका लागि रड बाध्ने क्रममा रडले तारमा छोएपछि दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, बिहान ११ बजे फलाकको डन्डी मिलाउने क्रममा उनीहरू खुला विद्युत तारमा टच भइ करेन्ट लागेको थियो । करेन्ट लागेपछि गम्भीर अवस्थामा रहेका दुवैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सुनसरी लगिएकोमा डाक्टरले नन्दकुमार चौधरीलाई बिहान ११ः१५ बजे मृत घोषणा गरेका थिए । श्रवण चौधरीको अवस्था गम्भीर रहेकाले उनलाई नोबेल अस्पताल विराटनगरमा रेफर गरिएको छ। उनका भतिज दिनेश चौधरी उपचारमा संलग्न रहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक दयाराम खतिवडाको कमान्डमा प्रहरी टोली खटिएको थियो । थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन सोको (क्इऋइ) टोली समेत खटाइएको प्रहरीले जनाएको छ ।
अदालतले रोक्का राखेको ठाउँमा जवरजस्ती निर्माण
उक्त निर्माणाधीन पक्की घर मोहम्मद कैयूम राइनले बनाइरहेका थिए । सो जग्गा इनरुवा–भोक्राहा ३३ केभी हाइटेन्सन विद्युत प्रसारण लाइनको सीधै मुनि पर्ने भएकाले यसअघि नेपाल विद्युत प्राधिकरणले निर्माण रोक्न पटकपटक आग्रह गर्दै आएको थियो ।
प्राधिकरणले पूर्वसूचना दिँदै अदालतमा मुद्दा दायर गरेको थियो र अदालतले स्पष्ट आदेश दिँदै हाइटेन्सन लाइनको मुनि कुनै पनि किसिमको निर्माण कार्य नगर्न निर्देशन दिएको थियो । तर राइनले ती सबै आदेशको अवज्ञा गर्दै तीन तल्ले पक्की घरको निर्माणलाई जबर्जस्ती अगाडि बढाएका थिए ।
नेपाल विद्युत प्राधिकरणले २०८१ सालमै कैयूम राइनलाई पत्राचार गरी हाइटेन्सन लाइनसँग कम्तिमा दुई मिटरको सुरक्षित दूरी कायम गर्न निर्देशन दिएको थियो । तर, राइनले लाइनको ठ्याक्कै मुनि संरचना बनाउने कार्य थालेका थिए ।
घर नक्सा समेत नपास, सबै निकायलाई बेवास्ता
इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाका अनुसार, प्राधिकरणबाट नगरपालिकालाई बोधार्थ पठाइएको पत्रको बाबजुद राइनले कुनै अनुमति नलिई निर्माण कार्य थालेका थिए । निरौलाले भने, “नगरपालिकासँग अनुमति नलिई, नक्सा पास नगरी राइनले जबर्जस्ती निर्माण गरेका छन् । हामीले समेत प्राधिकरणको सूचनालाई गम्भीरतापूर्वक लिएका थियौं ।“
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकालाई पटक–पटक बोधार्थ जानकारी पठाइसकेको थियो । साथै, हाइटेन्सन लाइनमुनिको जग्गाको मुआब्जा पनि पहिले नै दिइसकेको प्राधिकरणले जनाएको छ ।
तर ती सबै निकायको ध्यानाकर्षण हुँदाहुँदै पनि निजी स्वार्थ र अटेर प्रवृत्तिका कारण निर्माण अगाडि बढाइएकाले यस घटनाले एक निर्दोषको ज्यान गएको स्थानीयले दुख व्यक्त गरेका छन् ।
जिम्मेवार को ?
यो घटनाले स्पष्ट रूपमा देखाएको छ कि कानुनी आदेशको खुलेआम अवज्ञा र सरकारी संयन्त्रप्रतिको चुनौतीको परिणतिले सामान्य नागरिकको ज्यान लिएको छ । मृतक नन्दकुमार चौधरी र घाइते श्रवण चौधरी निर्माणस्थलमा श्रमिकको भूमिकामा मात्र थिए । उनीहरूको दोष नभए पनि गैरकानुनी निर्माणका कारण ज्यानको जोखिममा परेका हुन् ।
यस घटनामा जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्न थालेको छ । अबको जिम्मेवारी सुरक्षा निकाय र प्रशासनको हो कि पीडित परिवारले न्याय पाउँन् र यस्ता अटेर प्रवृत्तिविरुद्ध कानुनी कारबाही हुनु पर्ने अधिकारकर्मीहरुले माग गरेका छन ।
नवयूग सहकारीको २६ बार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति र लेखा समिति चयन
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा सञ्चालित नवयुग बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औं...














Discussion about this post